ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी आज दिल्ली आउँदै
नयाँदिल्ली – भारतको नयाँदिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत आउँदै हुनुहुन्छ । करिब सात वर्षपछि उहाँ पहिलोपटक दिल्ली भ्रमणमा आउन लाग्नुभएको हो । सी आज दिउँसो करिब साढे १२ बजे नयाँदिल्ली पुग्ने कार्यक्रम छ । उहाँले ब्रिक्स सम्मेलनमा सहभागी हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तालाई भारत–चीन सम्बन्ध सुधार र द्विपक्षीय सहयोगका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
आज दिउँसो ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको बन्द सत्र आयोजना हुँदैछ । सत्रमा समावेशी विश्व शासन र बहुपक्षीय व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । त्यसपछि नेताहरूले ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन, सामूहिक फोटो तथा वृक्षरोपण कार्यक्रममा सहभागी हुनेछन् । साँझ प्रधानमन्त्री मोदीले सहभागी नेताहरूका लागि रात्रिभोज आयोजना गर्नुहुनेछ ।
आइतबार सम्मेलनको मुख्य खुला सत्र आयोजना हुनेछ । ‘खुलापन, नवप्रवर्तन, सहकार्य र स्थायित्वमार्फत समावेशी विश्व विकासका लागि भविष्य निर्माण’ विषयमा छलफल हुने उक्त सत्रपछि नयाँदिल्ली घोषणापत्र जारी गरिनेछ । सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रबाहेक अफ्रिका, क्यारेबियन तथा अन्य क्षेत्रका देशका प्रतिनिधि पनि सहभागी हुँदैछन् ।
विश्व व्यापार संगठनकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलासहित क्युबा, बुरुन्डी, इन्डोनेसिया र थाइल्यान्डका उच्च अधिकारी पनि सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा विश्व व्यापार, समावेशी विकास, बहुपक्षीयता तथा ग्लोबल साउथका प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यससँगै भारत–चीन र भारत–रुस सम्बन्धका विषय पनि सम्मेलनमा महत्त्वका साथ उठ्ने बताइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तमिल दार्शनिक तिरुवल्लुवरको प्रसिद्ध कृति ‘तिरुक्कुरल’को रुसी भाषामा अनुवादित प्रति उपहार दिनुभएको छ । १३३ अध्याय र एक हजार ३३० दोहा रहेको उक्त कृतिमा नैतिकता, शासन, सामाजिक सम्बन्ध र प्रेमलगायत विषय समेटिएका छन् ।

