पहिरोले थुनिएको किम्रोङ खोलाको बहाव खुल्यो
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ। गएराति करिब ८ बजेतिर पहिरो खसेपछि खोला थुनिएको थियो। खोला थुनिएपछि किम्रोङ तथा मोदीखोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार रातभरिमा खोलाको बहाव आफैँ खुलेको हो। स्थानीयसँग बिहानै सम्पर्क गर्दा खोलाको पानी साविककै अवस्थामा फर्किएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यरातिदेखि पहिरोले थुनिएको स्थानको एक छेउबाट पानी विस्तारै बग्न थालेको थियो। अहिले खोलाको बहाव सामान्य अवस्थामा आइसकेको र तत्कालका लागि जोखिम टरेको उहाँले बताउनुभयो।
पहिरो खसेर खोला थुनिएको स्थानको अवस्थाबारे बुझ्न प्रहरी टोली बिहान ४ बजेदेखि नै घटनास्थलतर्फ परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो। खोलाको बहाव सामान्य अवस्थामा फर्किएपछि तत्कालको जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

