कृष्णभीरको माथिल्लो भागमा धाँजा फाटेपछि पहिरोको जोखिम

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजमार्ग सञ्चालनका लागि डाइभर्सन निर्माण भइरहेका बेला भिरको माथिल्लो भागमा पहिरोको जोखिम देखिएको छ । डाइभर्सनको ट्र्याक खोलिएको स्थानभन्दा माथि १० देखि १५ मिटर लम्बाइका पाँचदेखि सातवटा तथा एक हातभन्दा बढी चौडाइका धाँजा फाटेका चिरा देखिएका छन् । भूगर्भविद् संयोग खनालका अनुसार ती चिरा पहिरोको दृष्टिले जोखिमपूर्ण छन् ।

उहाँका अनुसार चिरा परेको भागबाट पानी भित्र पसेमा ठूलो पहिरो जान सक्ने जोखिम छ । कृष्णभीर पुरानो पहिरोमा अडिएको क्षेत्र भएकाले अहिले देखिएका चिरा कति गहिरा छन् भन्ने अध्ययन नगरी जोखिमको यकिन गर्न नसकिने उहाँको भनाइ छ । जियो टेक्निक सोसाइटीका महासचिव कल्पना अधिकारीले पनि चिरा परेको भागको तत्काल मर्मत आवश्यक रहेको बताउनुभएको छ ।

त्रिशूली नदीको कटानबाट राजमार्ग जोगाउन टो वाल तथा माथिल्लो भागमा पहिरो रोक्न चिरा परेको स्थानको मर्मत र सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । कृष्णभीरमा यसअघि पनि २०५६ सालतिर पहिरो गएपछि लामो समयसम्म समस्या भएको थियो । यसपटक भने त्रिशूली नदीको कटानका कारण राजमार्ग भासिएको हो । नदीको कटान रोक्न निर्माण गरिएको करिब १०० मिटर लामो टो वाल भत्किएपछि सडक भासिएको बताइएको छ ।

अहिले करिब १२० मिटर लम्बाइ र नौ मिटर चौडाइमा राजमार्ग भासिएको छ । सडक भासिएपछि गत शुक्रबारदेखि राजमार्ग सञ्चालनका लागि सँगैको भिर कटान सुरु गरिएको हो । हाल एकतर्फी ट्र्याक खोलिएको छ भने सडक विभागले त्यसलाई विस्तार गरी दुई लेन बनाएर राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक खुलाउन आठ मिटर चौडाइ र २६० मिटर लम्बाइमा भिर कटान भइरहेको छ । गत सोमबारदेखि कृष्णभीरमा राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक व्यवस्थामार्फत सडक सञ्चालनको प्रयास भइरहेको छ ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले कृष्णभीर पुरानो पहिरोको जोखिम क्षेत्र र कमजोर भूसतह भएको जानकारी हुँदाहुँदै चुनौतीलाई ध्यानमा राखेर कटानको काम अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार माथि चिरा परेको भागबाटै स्लोपमा कटान गर्ने र त्यसको मर्मत तथा सुधार गरी पानी भित्र पस्न नदिने तथा पहिरो रोक्ने योजना अघि बढाइएको छ ।

Facebook Comments Box