बाढी प्रभावित परिवारलाई विदुर नगरपालिकाले १० हजार घरभाडा दिने
नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई भाडामा घर वा कोठा लिएर बस्नका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत आवश्यक राहत सामग्रीसमेत वितरण गर्ने जनाएको छ । बाढीबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै घरधनीले भाडा बढाउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नगरपालिकाले सचेत गराएको छ । नगरपालिकाका अनुसार घर वा कोठा भाडामा दिँदा प्रचलित तथा चलनचल्तीको भन्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित घरधनीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ ।

