भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

प्रहरीका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ शव पहिचान गर्न नसकिने अवस्थामा छन्।सम्पर्कविहीनमध्ये २ हजार ८२७ नेपाली पुरुष, ५६७ नेपाली महिला तथा २६७ विदेशी पुरुष र २३९ विदेशी महिला रहेका छन्।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ४४ शवको अन्त्येष्टि तथा व्यवस्थापन गरिएको छ। बेपत्ताको खोजी, उद्धार र शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। बाढीपछि हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको छ भने ३ हजार १९० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। मृतक तथा बेपत्ताको पहिचानका लागि हालसम्म मृतक १ हजार १८१ र आफन्त १ हजार १९५ गरी २ हजार ३७६ जनाको डीएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box