रसुवामा बाढीपहिरोको क्षति व्यापक, ३ हजारभन्दा बढी सम्पर्कविहीन
रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोलाको बाढीपछि जिल्लामा हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका तथा रोकिएका १४५ तीर्थयात्री र स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट तथा काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ।
बाढीपहिरोमा फेला परेका १६३ शवमध्ये हालसम्म छ जनाको सनाखत भएको छ। अन्य शवको सनाखत तथा डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। बाढीपहिरोबाट १ हजार ५०० निजी घर तथा २८ सरकारी तथा सार्वजनिक निकाय, ११ विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ। यस्तै, ४१ किलोमिटर सडक, छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुलमा क्षति पुगेको छ। आठ जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
विस्थापित ७ हजार ३३ नागरिकलाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ। विपद्पछि जिल्लाको ८३ प्रतिशत क्षेत्रमा विद्युत् सेवा र नेपाल टेलिकमको सञ्चार सेवा पुनः सञ्चालनमा आएको बताइएको छ।

