यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका खसीबोका

भोजपुर । ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोका काठमाडौँ, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन्। यसले किसानलाई घरआँगनबाटै खसीबोका बिक्री गर्न सहज भएको छ। हाल गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेका छन्। उचित मूल्य र बजारको सहज पहुँच भएपछि जिल्लामा बाख्रापालनप्रति किसानको आकर्षणसमेत बढेको छ।

स्थानीय व्यापारी गणेश विष्टका अनुसार गाउँबाट सङ्कलन गरी महिनामा करिब २०० खसीबोका काठमाडौँ पठाउने गरिएको छ। काठमाडौँसम्म ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि १ हजार ५०० सम्म खर्च हुने गरेको उहाँले बताउनुभयो। घरमै तराजुमा जोखेर खसीबोका बिक्री गर्न पाएपछि किसानलाई ठगिने जोखिम घटेको स्थानीय हर्कराज लुइँटेल बताउनुहुन्छ।

आवश्यक परेको बेला तत्कालै बिक्री गर्न सकिने भएकाले बाख्रापालन आम्दानीको भरपर्दो स्रोत बन्दै गएको किसानहरूको भनाइ छ। सडक र यातायातको पहुँच विस्तारसँगै व्यापारी गाउँमै पुगेर खसीबोका खरिद गर्न थालेपछि दुर्गम क्षेत्रका किसानलाई बजार खोज्नुपर्ने बाध्यता हट्दै गएको छ।

Facebook Comments Box