लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
सुनसरी । धरान उपमहानगरपालिका–५ देवीगाउँस्थित लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल नबन्दा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खामा जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता छ । २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सनबीच रु एक करोड २१ लाख ८६ हजारमा पुल निर्माणको सम्झौता भएको थियो । २०७८ साउनभित्र सम्पन्न गर्नुपर्ने पुलको हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ ।
दुवैतर्फका पिलर उठाएर निर्माण रोकिएको र ती पिलरसमेत झाडीले ढाकिएका छन् । पुल नहुँदा बर्खामा विद्यार्थी विद्यालय जान तथा परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन् । बिरामीलाई अस्पताल लैजान र किसानका कृषि उपज धरान बजार पुर्याउनसमेत समस्या हुने गरेको स्थानीयले बताएका छन् ।
पटकपटक म्याद थपिए पनि काम अघि नबढेपछि ठेक्का रद्द तथा धरौटी जफतको प्रक्रिया अघि बढाइएको थियो । तर, निर्माण कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया रोकिएको वडाध्यक्ष मनप्रसाद लिम्बूले बताउनुभयो । पुल निर्माण सम्पन्न भए स्थानीयको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

