प्रतिनिधिसभाको बैठक आज बस्दै, तीनवटा सम्झौता तथा विधेयक कार्यसूचीमा
काठमाडौँ – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गर्नेछन् । कानुनमन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

