आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने
काठमाडौँ, १८ भदौ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेखलगायत आसपासका केही स्थानमा मध्यमसम्म तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
तराईका विभिन्न स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । लुम्बिनीको तराईमा हुरी चल्ने सम्भावनासमेत रहेको छ । बागमती र गण्डकीका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोसी र बागमतीका हिमाली तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

