आज गाईजात्रा पर्व मनाइँदै
काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राको आज पहिलो दिन हो। गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने चलन छ।
नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही तथा अन्न र द्रव्य दान गर्ने गर्छन्। यसरी गाईको परिक्रमा गराएमा दिवङ्गत व्यक्तिले गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्ने धार्मिक विश्वास रहेको छ। गाईजात्रा पर्व राजा प्रताप मल्लको पालादेखि सुरु भएको ऐतिहासिक मान्यता छ। पुत्रशोकमा रहेकी रानीलाई संसारमा सबैले यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले यो पर्व सुरु गराएको जनश्रुति छ।
रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा सुरु भएको बताइन्छ। गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद अर्थात् राजदरबार भएर गाईको नगर परिक्रमा गराउने परम्परा अझै कायम छ। देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिन्छ।
अष्टमीसम्म चल्ने गाईजात्राका क्रममा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्दै प्रहसन तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। नाचगानसँगै दिवङ्गत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतसमेत गाउने गरिन्छ। काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उल्लेख्य बसोबास रहेका शहरमा गाईजात्रा धुमधामका साथ मनाइन्छ।
गाईजात्राको अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारले काठमाडौँ उपत्यकामा गाईजात्राका दिन सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष पर्व शनिबारकै दिन परेकाले थप सार्वजनिक बिदा परेको छैन।

