भोटेकोशी बाढीमा ३८९ जनाको शव फेला, ९७७ जना सम्पर्कविहीन
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म ३८९ जनाको शव फेला परेको छ। राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार राति १० बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेको विवरण प्राप्त भएको हो।
प्राधिकरणका अनुसार धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, चितवनमा १३७ र तनहुँमा २८ जनाको शव फेला परेको छ। यसैगरी, बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, अध्यागमन कार्यालयका चार र भन्सार कार्यालयका १५ जना रहेका छन्। यस्तै, रसुवाका १६१ र मकवानपुरका ६६ जना, नुवाकोटका एक जना तथा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढीमा परी घाइते हुनेको संख्या ७३ पुगेको छ। घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ भने विभिन्न निकायले क्षतिको विवरण सङ्कलन गरिरहेका छन्।

