गोसाइँकुण्डको महत्वसँग जोडिएको बनेपाको गोसाइँस्थानमा भव्य मेला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा आज जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा भव्य मेला लाग्दैछ। बनेपा नगरपालिका–६ मा रहेको गोसाइँस्थानलाई रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डसँग जोडेर हेर्ने गरिन्छ। रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले बनेपाको गोसाइँस्थानमा पुगेर दर्शन तथा स्नान गर्ने परम्परा रहेको स्थानीय बताउँछन्।

जनैपूर्णिमाका दिन गोसाइँस्थानमा जनै धारण गर्ने, शिव मन्दिरमा पूजाअर्चना गर्ने तथा ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाउने भक्तजनको भीड लाग्ने गर्छ। काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकलगायत छिमेकी जिल्लाबाट भक्तजन यहाँ आउने गरेका छन्।

गोसाइँस्थानमा हिन्दू तथा बोन धर्म परम्पराअनुसार पूजा गर्ने प्रचलन छ। तामाङ समुदायका मानिस तथा झाँक्रीले ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने गर्छन्। नेवार समुदायले अन्तपात चढाउने तथा ब्राह्मण समुदायले जनै र रक्षाबन्धन धारण गर्ने परम्परा रहेको छ। मेलाका क्रममा महिला तथा पुरुषले तामाङ सेलो गाएर रमाइलो गर्ने र आपसमा भावना साटासाट गर्ने परम्परा पनि रहँदै आएको छ।

गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहका अनुसार गत वर्षको तुलनामा यस वर्ष मेला क्षेत्रलाई थप व्यवस्थित बनाइएको छ। उहाँका अनुसार कोरोना महामारीपछि हरेक वर्ष यहाँ आउने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। जात्राका समयमा बनेपाको बुडोलदेखि नै सडकका दुवैतर्फ व्यापारिक चहलपहल बढ्ने गरेको छ।

स्थानीय बूढापाकाका अनुसार रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले गोसाइँस्थानमा पुगेर दर्शन तथा स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। बनेपा बजारबाट उत्तरपूर्वतर्फ हरियाली डाँडामा अवस्थित गोसाइँस्थान धार्मिक आस्था मात्र नभई पर्यापर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। बनेपा र धुलिखेलको बीचमा रहेको यस क्षेत्रबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ।

गोसाइँस्थानको अग्लो डाँडामा निर्माण गरिएको दृश्यावलोकन स्तम्भले पनि यस क्षेत्रको आकर्षण बढाएको छ। पछिल्लो समय सडक, सिँढी तथा अन्य भौतिक संरचना निर्माण भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन्। गोसाइँस्थान क्षेत्रमा नयाँ मुक्तिनाथ मन्दिर र हनुमान मन्दिर निर्माण गरिएको छ।

त्यस्तै, रामायण भजनका लागि भवन र पक्की शौचालय निर्माण गरिएको छ भने उद्यान निर्माणको तयारी भइरहेको संरक्षण समितिले जनाएको छ। गोसाइँस्थानबाट हाइकिङ गर्दै अर्को प्रसिद्ध पर्यटकीय गन्तव्य नगरकोटसम्म पुग्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटनसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्न सकिने सम्भावना रहेको छ।

Facebook Comments Box