भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
नारायणगढ, ९ भदौ – चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरलाई ‘सहिद मैदान’का रूपमा विकास गरिने भएको छ। जिल्ला समन्वय समिति चितवनको नवौँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार ऐतिहासिक गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै देशका लागि योगदान गरेका सहिदको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको हो। मैदानमा राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ। यसका लागि हाल एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मैदान स्तरोन्नति तथा सम्याउने काम भइरहेको छ। महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलन भएको माटो प्रयोग गरी चौर पुर्ने काम भइरहेको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो। मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ। यस्तै, मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र र अत्याधुनिक स्मार्ट शौचालय निर्माण गर्ने योजना छ। यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ।
आगामी माघ १६ गते सहिद दिवसका अवसरमा सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको छ। सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत रहेकाले दुवै कार्यक्रम एकैसाथ गर्ने तयारी गरिएको कार्यवाहक प्रमुख अधिकारीले जानकारी दिनुभयो।
समन्वय पार्क पनि निर्माण गरिँदै
जिल्ला समन्वय समिति परिसरमा रहेको चार बिघा ११ कठ्ठा १६ धुर जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा ‘भरतपुर समन्वय पार्क’ निर्माण गर्ने गरी महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय भएको छ। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार ऐतिहासिककालदेखि सहिदको सम्मान र सम्झनाका लागि सहिद मैदान तथा ज्येष्ठ नागरिक, बालबालिका र आमसर्वसाधारणका लागि समन्वय पार्क निर्माण गर्न लागिएको हो।
समन्वय पार्कलाई मनोरञ्जन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिनेछ। पार्क निर्माणका लागि महानगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कार्यवाहक प्रमुख अधिकारीका अनुसार यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी भइरहेको छ।
गेस्ट हाउस चौरलाई सहिद मैदान र समन्वय पार्कका रूपमा व्यवस्थित तथा सौन्दर्यीकरण गरेपछि क्षेत्र थप आकर्षक हुनुका साथै राष्ट्रिय कार्यक्रम, मनोरञ्जन र सर्वसाधारणको दैनिक उपयोगका लागि महत्वपूर्ण सार्वजनिकस्थल बन्ने अपेक्षा गरिएको छ।

