अविरल वर्षाले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । सोमबार बिहान ६ः२० बजेसम्मको विवरणअनुसार कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । इलामको राजदुवाली क्षेत्रमा पहिरोका कारण झापा–ताप्लेजुङ सडकखण्डको मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । दुवै स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा सडकको जोखिम बढेपछि रातिको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको छ । काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

सिन्धुपाल्चोकको कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग तथा रसुवाको खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी र स्याउपार्कसहितको पासाङ ल्हामु सडकखण्ड बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरीस्थित टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

गण्डकी प्रदेशका मुख्य सडकखण्डमा पहिरो खसे पनि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम र मनाङको खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढीको जोखिम भएका सडकमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायले जारी गरेका सूचनाअनुसार मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box