मकैबारी फाँडेर जाजरकोटमा बाढीपहिरो विस्थापितका लागि अस्थायी सेल्टर बनाइँदै

सुर्खेत, ७ भदौ – जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित परिवारलाई राख्न मकैखेती मासेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ। पहिरोका कारण घरबास गुमाएका तथा जोखिममा परेका १६८ घरधुरीका ८९७ जनालाई तत्काल सुरक्षित रूपमा राख्न रिसाङ विद्यालय आसपास, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा टेन्ट, त्रिपाल तथा प्लास्टिकबाट अस्थायी संरचना निर्माण थालिएको हो।

वर्षायाममा विस्थापित परिवारलाई खुला आकाशमुनि बस्नुपर्ने अवस्था नहोस् भनेर स्थानीयस्तरमै जग्गा व्यवस्थापन गरी सेल्टर निर्माण सुरु गरिएको हो। सेल्टर निर्माणका लागि छनोट गरिएका कतिपय स्थानमा मकैबाली लगाइएको थियो। बाली तयार हुनुअघि नै पहिरोले घरबास जोखिममा पारेपछि प्रभावित परिवारलाई सुरक्षित राख्न मकैबारी फाँडेर अस्थायी संरचना बनाउन थालिएको स्थानीयले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि तीन स्थानलाई अस्थायी सेल्टर निर्माणका लागि उपयुक्त ठहर गरेको हो। टोलीले पहिरोको जोखिम, भू–बनोट, पानीको निकास र पहुँच मार्गलगायत विषयको अध्ययन गरी तत्कालका लागि प्रभावित परिवारलाई सुरक्षित राख्न सकिने स्थान पहिचान गरेको थियो।

रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी संरचना निर्माण हुने भएपछि स्थानीयस्तरमा जग्गा व्यवस्थापनको कामसमेत अघि बढाइएको छ। कतिपय स्थानमा मकैबारी फाँडेर जमिन सम्याउने र टेन्ट राख्ने तयारी भइरहेको छ। विस्थापित परिवारको संख्या ठूलो भएकाले एउटै स्थानमा राख्न सम्भव नभएपछि तीन ठाउँमा विभाजन गरी व्यवस्थापन गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गा भाडामा लिने विषयमा जग्गाधनी र भेरी नगरपालिकाबीच सम्झौता भइसकेको छ। जग्गाको भाडा भेरी नगरपालिकाले बेहोर्नेछ। स्थानीय तह, जिल्ला प्रशासन र प्राधिकरणको समन्वयमा सुरक्षित स्थान छनोट गरी अस्थायी संरचना निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो।

“प्रभावित परिवारलाई तत्काल सुरक्षित ठाउँमा राख्नु अहिलेको प्राथमिकता हो,” उहाँले भन्नुभयो, “स्थलगत अध्ययनपछि जोखिम कम भएका स्थान पहिचान गरी तीन ठाउँमा अस्थायी सेल्टर निर्माण गर्न लागिएको हो।” रिसाङमा गएको पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन्। पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घर तथा अन्य संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको आवश्यकता परेको हो।

लगातारको वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रभावित परिवारलाई जोखिमयुक्त घरमा फर्काउन सकिने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ। अस्थायी सेल्टर निर्माणसँगै विस्थापित परिवारका लागि खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्य सेवा, खाद्यान्न तथा सरसफाइको व्यवस्थापनसमेत चुनौती बनेको छ। ठूलो संख्यामा मानिसलाई एकै ठाउँमा राखिने भएकाले संक्रामक रोग फैलिन नदिन सरसफाइ तथा स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्ने देखिएको छ।

Facebook Comments Box