बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ, ७ भदौ – पछिल्ला केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो।

कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। वैकल्पिक बाटो प्रयोग गरी अहिले एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इलामको मेची राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी सडकखण्ड प्रभावित भएका छन्। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, नुवाकोटको मध्यपहाडी लोकमार्ग तथा टोखा–छहरे सडकखण्ड र धादिङको दामन पाख्रिन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडकखण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बागलुङमा सडक दुईतर्फी सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ।रोल्पाको सहिदमार्गअन्तर्गत घोराही–थवाङ–रुकुम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

पाल्पाको सिद्धार्थ राजमार्गमा खसेको पहिरो पन्छाएपछि भने यातायात सुचारु भएको प्रहरीले जनाएको छ। वर्षा कायमै रहेकाले बाढी तथा पहिरोको जोखिम भएका सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Facebook Comments Box