ताइवानी अम्बा खेतीले बदलिँदै सिर्जनाको दैनिकी

नेपालगञ्ज (बाँके), ४ भदौ – बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टले चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी अम्बा खेती सुरु गर्दा यसबाट यति राम्रो आम्दानी होला भन्ने सोच्नुभएको थिएन । धान र तोरी उत्पादन गर्दै आएको खेतमा सुरु गरिएको व्यावसायिक अम्बा खेती अहिले उहाँको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ ।

विष्टका अनुसार अम्बा खेतीबाट एक सिजनमा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । अम्बाको वर्षमा दुई सिजन उत्पादन हुने भएकाले वार्षिक आम्दानी अझ बढ्ने उहाँको अनुभव छ । परम्परागत अन्नबालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी हुन थालेपछि उहाँ अम्बा खेतीप्रति उत्साहित हुनुहुन्छ । “व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक सिजनमा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ ।

धान र तोरी लगाउने खेतमा अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागेको थियो, अहिले आम्दानी राम्रो हुन थालेपछि खुसी छु”, विष्टले भन्नुभयो । भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले ताइवानी प्रजातिका अम्बा मुख्य रूपमा रहेका छन् । उहाँले केही स्थानीय जातका अम्बाका बिरुवासमेत लगाउनुभएको छ । उत्पादन भएका फललाई किरा तथा चराचुरुङ्गीबाट जोगाउन उहाँले फलमा प्लास्टिक प्याकिङ गर्ने प्रविधि अपनाउनुभएको छ ।

प्लास्टिकले फल प्याक गर्दा किरा र सुगाबाट जोगिनुका साथै फलको रङ र बाहिरी स्वरूप पनि राम्रो देखिने उहाँ बताउनुहुन्छ । यसले बजारमा अम्बालाई आकर्षक बनाउनसमेत सहयोग पुगेको उहाँको भनाइ छ । “प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ । फलको रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ”, उहाँले भन्नुभयो । विष्टले अम्बाबाट व्यावसायिक रूपमा आम्दानी लिन थालेको करिब डेढ वर्ष भएको छ ।

सुरुमा विस्तारै खेती गर्दै जाने सोचले अम्बा लगाउनुभएको उहाँ अहिले परम्परागत धान तथा गहुँ खेतीभन्दा फलफूल खेती सहज र लाभदायक भएको अनुभव सुनाउनुहुन्छ ।  अम्बा पाकेपछि अधिकांश समय आफैँले फल टिप्ने गर्नुभएकी विष्टले बगैँचा ठेक्कामा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेको बताउनुभयो । अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको अनुभव छ ।

बगैँचामा फल तयार हुन थालेपछि व्यापारीहरू आफैँ खरिदका लागि आउने गरेका छन् । कतिपय उपभोक्ताले घरमै पुगेर अम्बा खरिद गर्ने गरेका छन् भने मण्डीका व्यापारीले ठूलो परिमाणमा खरिद गरी नेपालगञ्ज बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । हाल विष्टको बगैँचामा उत्पादन भएको अम्बाको प्रमुख बजार नेपालगञ्ज हो । बजारको माग र आम्दानी राम्रो हुँदै गएपछि उहाँ आगामी दिनमा अम्बा खेती थप विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

“अहिलेको आम्दानीले हौसला बढाएको छ । मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो । परम्परागत अन्नबालीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी विष्टको प्रयासले स्थानीयस्तरमा पनि सकारात्मक सन्देश दिएको छ । कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आम्दानी गर्न सकिने देखिएपछि उहाँको अम्बा खेतीबाट प्रभावित भएर अन्य किसानसमेत व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

Facebook Comments Box