विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ४ भदौ – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ। देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्नसक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। भारी वर्षा र हुरीबतासको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

