सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ऐतिहासिक पहिचान

भोजपुर, ३ भदौ – भोजपुर बजारको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ। बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत १९ लाख रुपैयाँको लागतमा संरक्षणको काम सम्पन्न गरेको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो।

उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण तथा घेराबारा र पर्खाल निर्माण गरिएको छ। मुहान संरक्षण र ढुङ्गेधारा जडानसँगै आवश्यक संरचनागत कामसमेत सम्पन्न गरिएको उहाँले बताउनुभयो।

सप्तधाराका दुईवटा मुहानमा रहेका १४ धारामध्ये ११ वटामा काठमाडौँबाट ल्याइएका हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिनुभयो। धारासँगै आसपासका क्षेत्रमा आवश्यक संरचना निर्माण गरी क्षेत्रलाई थप व्यवस्थित बनाइएको उहाँको भनाइ छ। बजार क्षेत्रमा आउने स्थानीय तथा बाह्य आगन्तुकलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले सप्तधाराको संरक्षण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार सप्तधारा भोजपुर बजारको महत्वपूर्ण पहिचान भएकाले संरक्षणपछि यसको आकर्षण थप बढेको छ। उद्योग वाणिज्य सङ्घ भोजपुरका पूर्वअध्यक्ष कर्ण मोक्तानका अनुसार सप्तधाराको संरक्षणले ऐतिहासिक पानीको मुहान जोगिनुका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढाएको छ। स्थानीय जानकारका अनुसार सप्तधाराको मुहानकै कारण यहाँ बस्ती विकास हुँदै भोजपुर बजार स्थापना भएको भन्ने भनाइ छ।

स्थानीयका अनुसार विसं १९६५ तिर यस क्षेत्रमा बस्ती विस्तार भएको थियो। सप्तधाराको अर्को विशेषता भनेको लामो समयसम्म खडेरी पर्दासमेत मुहान नसुक्नु हो। बजारको बीचमा निरन्तर पानीको स्रोत देख्दा बाहिरबाट आउने आगन्तुकसमेत आकर्षित हुने गरेका छन्।ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको सप्तधारा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पूर्वअध्यक्ष मोक्तानको भनाइ छ।

सप्तधाराले बजार क्षेत्रको खानेपानीको आवश्यकता पूरा गर्नुका साथै सिँचाइमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो। वडा कार्यालयले सप्तधारा क्षेत्रको संरक्षण तथा विकासका लागि आवश्यक सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार सप्तधारा भोजपुर बजारको सुन्दरताको केन्द्रसमेत हो। आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो। भोजपुर नगरपालिका–७ र ९ को सिमाना क्षेत्रमा अवस्थित सप्तधारा ऐतिहासिक पानीको मुहानका रूपमा रहनुका साथै बजारवासीका लागि पानीको स्रोत, बजारको पहिचान र आकर्षणको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।

Facebook Comments Box