भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौँ, १ भदौ – प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुखले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० गतेको समय निर्धारण गर्नुभएको हो।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

तोकिएको दिन बैठक बस्न नसके त्यसपछि बस्ने बैठकको पहिलो एक घण्टामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ। यस्तै, नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिनेछ।

प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक बस्नुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई गराउनुपर्नेछ। प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय सभामुखले गर्ने व्यवस्था छ। साथै, प्रत्यक्ष प्रश्नोत्तरमा प्रधानमन्त्रीले दिएको जवाफमाथि प्रतिनिधिसभामा थप छलफल गर्न नपाइने व्यवस्था रहेको छ।

Facebook Comments Box