होल्डिङ सेन्टरमा भूमिहीन सुकुमवासीको मृत्यु, छानबिन गर्न माग
काठमाडौँ, १ भदौ – भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा भूमिहीन सुकुमवासी ५७ वर्षीय हिरा हजारा दुषाध पासवान मृत भेटिएपछि घटनाको छानबिन गर्न माग गरिएको छ। गत साउन २८ गते होल्डिङ सेन्टरमा झुण्डिएको अवस्थामा पासवान मृत भेटिनुभएको थियो। उहाँको मृत्युको छानबिन गर्न परिवार तथा भूमिहीन सुकुमवासीले माग गरेका हुन्।
पासवानको थापाथलीस्थित सुकुमवासी बस्तीमा रहेको घर गत वैशाखमा सरकारले डोजर लगाएर भत्काएको थियो। त्यसपछि उहाँको परिवारलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएको थियो।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि डोजरबाट जोगाएर ल्याइएका सामानसमेत भिजेका थिए। त्यसपछि परिवारलाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको थियो।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले पासवानको घर भत्काइएपछि बाँकी रहेका सामानसमेत बाढीले बगाएको र परिवारले निरन्तर मानसिक दबाब तथा निराशा व्यहोर्नुपरेको जनाएको छ।
पासवानका श्रीमती, छोरा, बुहारी, दुई नातिनी र एक नाति छन्। उहाँको मृत्यु भएपछि पनि परिवारले राज्यबाट सहानुभूति पाउनुको सट्टा दुर्व्यवहार भोग्नुपरेको मोर्चाको आरोप छ।मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय र आवश्यक सहयोग उपलब्ध गराउन माग गरेको छ।

