जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ, १ भदौ – नेपालमा जापानिज इन्सेफलाइटिस अर्थात् जेई सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। परिवार कल्याण महाशाखाका अनुसार देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम अर्थात् एईएस देखिएकामा ६३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो पाँच दिनमा मात्रै थप नौ जनामा जेई सङ्क्रमण पुष्टि भएको हो।
जेई सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् भने ३१ जना उपचाररत छन्। सङ्क्रमण पुष्टि भएका ६३ जना २२ जिल्लाका ५० स्थानीय तहका रहेको महाशाखाले जनाएको छ।जेईबाट मृत्यु भएका सबैले खोप नलगाएको पाइएको छ। मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन्। मृतकमध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको तथ्याङ्कले देखाएको छ।
जेईबाट झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ। पछिल्लो समय जेई पूर्वी नेपालसँगै पश्चिमी क्षेत्रमा पनि फैलिँदै गएको महाशाखाले जनाएको छ।
अधिकांश सङ्क्रमित धानबारी तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र ६२ प्रतिशत सङ्क्रमितको मुख्य पेसा कृषि रहेको पाइएको छ। लामखुट्टेको टोकाइबाट सर्ने जेई मस्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

