सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
काठमाडौँ, १ भदौ – सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ बजेर १५ मिनेटमा सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।
यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ प्रस्तुत गर्नुहुनेछ। उहाँले नै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची छ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता, राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आजका बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछन्।

