विद्युत् तार सर्ट हुँदा सिरहामा आगलागी, पाँच लाखको क्षति

सिरहा, ३० साउन – सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युत्को तार सर्ट भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करिब १ बजे स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भएर अचानक आगलागी भएको हो । आगलागीमा घरमा भण्डारण गरेर राखिएको धान, चामल, गहुँ, खाद्यान्न, केही नगद, प्लाइ, भाँडाकुँडालगायतका सामग्री जलेर नष्ट भएको पीडित मण्डलले बताउनुभयो ।

आगो लागेको थाहा पाएपछि स्थानीयवासीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए । त्यसपछि गोलबजार नगरपालिकाको दमकलसमेत घटनास्थलमा पुगेपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा आएपछि घरका अन्य भागमा आगो फैलिनबाट रोकिएको स्थानीयले बताएका छन् ।

कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोद यादवका अनुसार प्रारम्भिक रूपमा विद्युत्को तार सर्ट भएर आगलागी भएको देखिएको छ । आगलागीबाट घरमा राखिएका खाद्यान्न तथा अन्य सामग्रीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । पीडित मण्डलका अनुसार रातिको समयमा अचानक आगलागी भएकाले घरभित्र रहेका अधिकांश सामान निकाल्न सकिएन ।

उहाँले आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली घटनास्थलमा पुगेर मुचुल्का तथा क्षतिको विवरण सङ्कलन गरेको छ । प्रहरीले प्रारम्भिक रूपमा विद्युत्को तार सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box