देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३० साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा रही नेपालनजिक रहेको छ । हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली छ ।
मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई भूभागमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा मौसम पूर्वानुमानअनुसार अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ ।

