चितवनमा १५ जनामा औलो संक्रमण पुष्टि
चितवन, ३० साउन – चितवनमा गत आर्थिक वर्षमा १५ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार ४१५ जनाको परीक्षण गर्दा १५ जनामा औलो संक्रमण देखिएको हो । संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेको किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।
एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो रोग सर्ने गर्दछ । संक्रमण भएपछि लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीर काम्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिने केसीले बताउनुभयो । चितवनमा आर्थिक वर्ष २०८१/८२ मा आठ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा औलो संक्रमण पुष्टि भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको थियो ।
नेपालमा मुख्यगरी प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम नामका दुई प्रकारका औलोका परजीवी पाइन्छन् । नेपालमा भाइभेक्स परजीवीको संक्रमण बढी देखिने गरेको छ । कुल संक्रमितमध्ये करिब ७० देखि ८० प्रतिशतमा भाइभेक्स परजीवी देखिने गरेको केसीले बताउनुभयो ।
फाल्सिपारम परजीवी भने १५ देखि २० प्रतिशत संक्रमितमा देखिने गरेको छ । यो परजीवीले मानिसको स्नायु प्रणालीमा समेत असर पार्न सक्ने जनाइएको छ । विदेशबाट फर्किएका नेपालीमा फाल्सिपारम परजीवी बढी भेटिने गरेको कार्यालयले जनाएको छ । औलोबाट बच्न घर, गाउँ तथा समुदाय सफा राख्ने, लामखुट्टेले अण्डा पार्न सक्ने पानी जम्ने ठाउँ पुर्ने तथा राति सुत्दा झुल प्रयोग गर्ने जस्ता सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

