बेनी–जोमसोम सडकमा यात्रा गर्दा पूर्वसूचना लिन प्रशासनको आग्रह
मुस्ताङ, ८ साउन – गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा यात्रा गर्दा सडक तथा मौसमको अवस्थाबारे पूर्वसूचना लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ । लगातारको भारी वर्षाका कारण पहिरो तथा कालीगण्डकी नदीको कटानले सडक विभिन्न स्थानमा क्षतिग्रस्त बनेपछि सवारीसाधन रोकिने र यात्रुले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको छ । जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आवश्यक सूचना लिएर सतर्कतापूर्वक यात्रा गर्न आग्रह गर्नुभएको हो ।
प्रजिअ शर्माका अनुसार बाढी, पहिरो र नदी कटानबाट क्षतिग्रस्त सडक मर्मतको काम भइरहेको छ । रातिको समयमा बाढीपहिरोका कारण मानवीय क्षति हुन सक्ने भएकाले प्रशासनको सूचनालाई पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । गएरातिको बाढीपहिरोका कारण छिमेकी जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–बैसरी तथा अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र महभीरलगायत स्थानमा सडक अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत घाँसा र बादरजुङ भीर आसपासका क्षेत्रमा पनि सडकमाथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेको जनाइएको छ ।
मुस्ताङ आउने तथा बाहिरिने पर्यटक र सर्वसाधारणलाई थासाङ गाउँपालिका–४ स्थित घाँसा प्रहरी चौकीबाट सडकको अवस्थाबारे जानकारी उपलब्ध गराइँदै आएको छ । अत्यधिक वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर पछिल्ला केही सातादेखि रातिको समयमा सडकमा आवतजावतमा समेत कडाइ गरिएको छ ।
हरेक वर्ष वर्षायाममा कालीगण्डकी नदीले धार परिवर्तन गर्ने तथा सडक विस्तारका क्रममा पहिरो खस्ने गरेका कारण बेनी–जोमसोम सडकमा क्षति पुग्ने गरेको छ । असारदेखि असोजसम्म मुस्ताङ आवतजावत गर्ने यात्रुले बढी जोखिम र सास्ती व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार माथिल्लो क्षेत्रमा भारी वर्षा हुँदा नदीको बहाव बढेर बस्ती तथा सडक कटान हुने र सडक मर्मतमा लामो समय लाग्ने अवस्था आउने गरेको छ । उहाँका अनुसार बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको छ । अवरुद्ध सडक खुलाउन आयोजनाले तत्काल काम गर्ने गरेको उहाँले बताउनुभयो ।
आयोजनाका अनुसार ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा छ । भिरालो भूभाग, भूमिगत पानी तथा कमजोर भू–बनोटका कारण यस क्षेत्रमा बाढी, पहिरो र नदी कटानको जोखिम बढी रहेको जनाइएको छ ।

