पोखरा–जोमसोम हवाई सेवा पुनः सञ्चालन, पर्यटन व्यवसायमा उत्साह
मुस्ताङ, १० असोज – प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनका कारण लामो समय अवरुद्ध भएको पोखरा–जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसम अनुकूल भएसँगै र पर्यटकीय सिजन सुरु भएपछि करिब एक महिनापछि उडान सुरु गरिएको हो।
समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीका अनुसार आज समिट एयरको ट्वीनअटर जहाजले दुईवटा नियमित उडान सम्पन्न गरेको छ। पहिलो दिन १० जना भारतीय र २४ जना अन्य विदेशी पर्यटकसहितको समूहलाई जोमसोम ल्याइएको छ।
थकालीले भने, “जेनजी प्रदर्शन र भारतीय सीमा बन्दका कारण टिकट बुकिङ रद्द भएकाले उडान रोकिएको थियो। अहिले परिस्थिती सामान्य हुँदै गएको छ र विदेशी पर्यटकको बुकिङ पनि बढिरहेको छ। अब नियमित उडानमा कुनै समस्या देखिँदैन।”
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार समिट एयरको उडानसँगै नेपाली सेनाको ट्वीनअटर जहाज पनि माउन्टेन वार फायर तालिम सकेका स्वदेशी र विदेशी सेनालाई लिन अवतरण भएको छ।
यसैबीच, तारा एयरलाइन्सले पनि आगामी अक्टोबर १ देखि सेवा पुनः सुरु गर्ने तयारी गरेको स्टेशन इन्चार्ज सुजन लालचनले जनाएका छन्।हवाई सेवा सञ्चालनमा आएपछि स्थानीय पर्यटन व्यवसायीमा उत्साह देखिएको छ।
जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले भने, “प्रदर्शनका कारण पर्यटन व्यवसाय सुस्ताएको थियो। अब हवाई उडान सुरु भएकाले पर्यटन पुनः चलायमान हुनेछ भन्ने विश्वास छ।”

