रोल्पामा पहिरोमा परी १० जनाको मृत्यु, तीन अझै बेपत्ता

कास्की, २९ साउन – रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु भएका १० जनाको शव फेला परेको छ । घटनास्थलमा पाँच तथा बाढीले बगाएर लगेको अवस्थामा प्युठानमा थप पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा पाँच वर्षका बालकदेखि ८५ वर्षीया वृद्धासम्म रहेका छन् । बुधबार राति गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरो खस्दा ११ वटा घरगोठ पुरिएका थिए ।

पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको शव फेला परेको छ ।

यस्तै, रोल्पाको लुङ्ग्री खोला र प्युठानको माडी नदीका विभिन्न स्थानबाट थप पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्युठानमा फेला परेका शवमध्ये ३८ वर्षीया जुनकुमारी पुन मगर (विष्णु पुन), पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको रहेको प्रहरीले जनाएको छ ।

पहिरोबाट भागेर ज्यान जोगाएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् । उनीहरूले प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी राति नै घटनाबारे जानकारी गराएका थिए । घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पहिरोले नौ वटा घर, एउटा घुम्ती पसल, दुई वटा गोठ र एउटा चर्च पुरिएको छ । पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box