आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २९ साउन – आज प्रतिनिधिसभाका तीन संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल गरी सुझाव सङ्कलन गर्ने कार्यसूची छ ।

साथै, बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने प्रस्तावसमेत रहेको छ । यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा मानव अधिकारको वर्तमान अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो २ः३० बजे बस्नेछ । उक्त बैठकमा परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल गरिनेछ ।

Facebook Comments Box