बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
काठमाडौं, २९ साउन – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी सडकखण्डमा बाढी तथा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बागमती प्रदेशमा सडक अवरोधको अवस्था बढी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । भोटेकोशी–४ को चारकिलो तथा वडा नं. २ को कोदारी र लिपिङमा पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो । यस्तै, धादिङको थाक्रे गाउँपालिका–६ आठकिल्लामा बिहीबार बिहान २ः१५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडकखण्ड लामो समयदेखि अवरुद्ध छ । उक्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग र कान्ति लोकपथमा भने निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।
कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ । झापा–ताप्लेजुङ जोड्ने उक्त सडक साउन २३ गतेदेखि बन्द रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा वैकल्पिक सडकबाट आवतजावत गर्न सकिने बताइएको छ ।भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा समेत बाढीका कारण साउन १२ गतेदेखि सडक एकतर्फी मात्र सञ्चालनमा छ । उक्त क्षेत्रमा पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

