रोल्पामा पहिरोमा परी दुईको मृत्यु, १० जना बेपत्ता

रोल्पा, २८ साउन  – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजेर ४० मिनेटमा खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुका अनुसार पहिरोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ति पुन मगरलाई मृत फेला पारिएको हो । स्थानीयवासीको समेत सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । दुवै जनाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी राति साढे ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट डीएसपी पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको छ ।

यस्तै, बिहान साढे ४ बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुग्नुभएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका तथा बेपत्ता हुनेको संख्या १० जना पुगेको खुलेको छ । घटनास्थलमा फोन सम्पर्क हुन नसकेको र थप विवरण आउन बाँकी रहेकाले बेपत्ताको यकिन विवरण तथा घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box