कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने जोखिम

काठमाडौँ, २८ साउन – डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै सबैभन्दा घातक बन्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण फैलिने वर्तमान गति कायम रहे सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीभन्दा पनि ठूलो प्रकोप बन्न सक्ने बताउनुभएको छ । उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो ।

यस वर्ष मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको प्रकोपमा हालसम्म चार हजार तीन सयभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । स्वास्थ्य अधिकारीका अनुसार प्रकोप औपचारिक घोषणा हुनुभन्दा करिब तीन महिना अघिदेखि नै फैलिन सुरु भएको थियो ।

डब्ल्यूएचओले आगामी तीन महिनाभित्र भाइरसको फैलावट नियन्त्रणमा ल्याउने आशा गरेको छ । तर नियन्त्रणमा आउनु भनेको प्रकोप पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दर घट्नु मात्र हुने चेतावनी दिइएको छ । कङ्गोको बूनिया सहरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहामेद जनाबीले स्वास्थ्यकर्मीहरू भाइरसको नियन्त्रणमा पछि परिरहेको बताउनुभएको छ । अनुसन्धानअनुसार भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको र सुरुमा मलेरिया वा टाइफाइडका रूपमा गलत निदान गरिएको थियो ।

हाल फैलिएको प्रकोप इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिका कारण भएको हो । यस प्रजातिका कारण यसअघि सन् २००७ र २०१२ मा मात्र प्रकोप देखिएको थियो । यसको उपचारका लागि हालसम्म स्वीकृत खोप वा आधिकारिक औषधि उपलब्ध छैन । कङ्गोको पूर्वी क्षेत्रमा जारी अशान्तिका कारण स्वास्थ्यकर्मीलाई नियन्त्रण अभियान सञ्चालन गर्न कठिन भइरहेको छ । त्यसका कारण स्वास्थ्यकर्मीहरू करिब ३० प्रतिशत सङ्क्रमितसम्म मात्र पुग्न सकेका छन् ।

इबोला दुर्लभ तर घातक भाइरसजन्य रोग हो । सङ्क्रमणपछि दुईदेखि २१ दिनभित्र लक्षण देखिन सक्छन् । सुरुमा ज्वरो, टाउको दुख्ने र थकानजस्ता लक्षण देखिने तथा पछि बान्ता र पखाला लाग्ने र शरीरका विभिन्न अङ्गले काम गर्न छाड्ने अवस्था आउन सक्छ । सङ्क्रमित व्यक्तिको रगत, बान्ता लगायतका शारीरिक तरल पदार्थको सम्पर्कबाट भाइरस सर्ने गर्छ ।

यसैबीच, बेलायतको औषधि नियामक निकाय एमएचआरएले बुन्डिबुग्यो प्रजातिविरुद्ध विकास भइरहेको नयाँ खोपको मानव परीक्षणका लागि अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयको टोलीले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिड खोपमा प्रयोग भएको प्रविधि उपयोग गरेर खोप विकास गरिरहेको छ ।

अन्य तीन समूहले पनि छुट्टाछुट्टै खोप विकास गरिरहेका छन् । तर ती खोपको क्लिनिकल परीक्षण भने सुरु हुन बाँकी छ । डब्ल्यूएचओले कङ्गोमा यसअघि प्रयोगमा रहेका दुईवटा एन्टिभाइरल औषधिले बिरामीको ज्यान जोगाउन सक्छन् कि सक्दैनन् भन्ने विषयमा पनि छुट्टै क्लिनिकल परीक्षण गरिरहेको जनाएको छ ।

Facebook Comments Box