काठमाडौँ महानगरले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै
काठमाडौँ, २७ साउन – काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि प्रक्रिया अघि बढाएको छ । त्यसका लागि महानगरले ६२ करोड २८ लाख रुपैयाँ खर्च गर्ने भएको छ । विद्यालयको भौतिक अवस्था सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।
सहरी योजना आयोगको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिनुभयो । महानगरका अनुसार विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात तथा बाढीजस्ता प्राकृतिक जोखिमको अवस्थासमेत अध्ययन गरेर लगानीको प्रस्ताव अघि बढाइएको हो ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन लगानी बढाइएको बताउनुभएको छ । उहाँका अनुसार बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार तथा प्रयोगात्मक अभ्यासका अवसर समान रूपमा उपलब्ध गराउने महानगरको योजना छ ।
शिक्षा विभागले वडा नम्बर १४ को जनविकास माध्यमिक विद्यालय र वडा नम्बर २८ को पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाएको छ । जनविकासका लागि पाँच करोड ६७ लाख ६८ हजार ८ सय ६२ रुपैयाँ र पद्मोदयका लागि १५ करोड ३५ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, वडा नम्बर २४ को श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि पाँच करोड ५७ लाख ४९ हजार, वडा नम्बर २६ को शान्ति विद्यागृह माध्यमिक विद्यालयका लागि आठ करोड ५७ लाख ४२ हजार र वडा नम्बर २९ को अटिजम स्कुलका लागि १० करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
दरबार हाई स्कुलमा एक करोड ८३ लाख २९ हजार रुपैयाँको लागतमा बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिनेछ भने महेन्द्र माध्यमिक विद्यालय बौद्धको मर्मतसम्भारका लागि ८४ लाख १२ हजार रुपैयाँ खर्च गरिनेछ । कन्या माध्यमिक विद्यालयमा छात्रावास तथा कक्षाकोठा निर्माणका लागि नौ करोड ६२ लाख ५४ हजार रुपैयाँको लागतमा खरिद प्रक्रिया सुरु भइसकेको महानगरको शिक्षा विभागले जनाएको छ ।

