रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
रोल्पा, २८ साउन – अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन् । पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो गएर घरसहित गोठ पुरिएको हो । घटनास्थलमा गएराति प्रहरी टोली पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोका कारण करिब ६ वटा घर तथा गोठमा क्षति पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

