कोशी प्रदेशमा धान रोपाइँ ५५ प्रतिशत नजिक, भोजपुर अगाडि, धनकुटा सबैभन्दा पछाडि
विराटनगर, ३२ असार – धान रोपाइँको मुख्य समय सकिन लाग्दा कोशी प्रदेशमा करिब ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा भएका जिल्लामा रोपाइँले गति लिए पनि पानीको अभाव र प्रतिकूल मौसमका कारण केही जिल्लामा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन। कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर धान खेती हुने कुल दुई लाख ७६ हजार ३ सय ८६ दशमलव ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख ५१ हजार ६ सय १९ दशमलव ३० हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ।
यो कुल खेतीयोग्य क्षेत्रफलको ५४ दशमलव ८६ प्रतिशत हो। निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाका अनुसार भोजपुरमा सबैभन्दा धेरै ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्रै रोपाइँ भएको छ।
तथ्यांकअनुसार खोटाङमा ७१ दशमलव ३६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, झापामा ६१ दशमलव ८० प्रतिशत, सोलुखुम्बुमा ५७ दशमलव ५६ प्रतिशत, उदयपुरमा ५५ प्रतिशत, सुनसरीमा ५२ प्रतिशत, तेह्रथुममा ५१ दशमलव ५८ प्रतिशत, ताप्लेजुङमा ४९ प्रतिशत, ओखलढुंगामा ४७ दशमलव ४६ प्रतिशत, मोरङमा ४६ प्रतिशत र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
भौगोलिक क्षेत्रका आधारमा तराईमा ५३ दशमलव ६६ प्रतिशत, मध्यपहाडमा ६१ दशमलव ०९ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४२ दशमलव ५३ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ। प्रदेशको तराई क्षेत्रमा रहेको एक लाख ९३ हजार २ सय ८५ दशमलव १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये एक लाख ३ हजार ७ सय १४ दशमलव २८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
त्यस्तै, मध्यपहाडी क्षेत्रको ६७ हजार ७ सय १७ दशमलव ५८ हेक्टरमध्ये ४१ हजार ३ सय ६६ दशमलव ०७ हेक्टर तथा उच्च पहाडी क्षेत्रको १५ हजार ३ सय ८३ दशमलव ९६ हेक्टरमध्ये ६ हजार ५ सय ३८ दशमलव ९६ हेक्टरमा धान रोपाइँ सकिएको छ। निर्देशनालयका अनुसार पछिल्ला दिनमा केही जिल्लामा पर्याप्त वर्षा भएपछि रोपाइँले गति लिएको भए पनि पानीको अभाव रहेका क्षेत्रमा अझै रोपाइँ प्रभावित बनेको छ।

