झापास्थित आन्तरिक राजस्व कार्यालयले चार अर्ब ९३ करोडभन्दा बढी राजस्व उठायो

भद्रपुर, २४ साउन –  आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले छ अर्ब छ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये आयकरबाट दुई अर्ब ४१ करोड ६१ लाख सात हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर अर्थात् भ्याटबाट एक अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख पाँच हजार रुपैयाँ सङ्कलन भएको छ।

त्यस्तै, भाडा आयकरबाट पाँच करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज करबाट नौ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकबाट दुई करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ रहेको छ।

Facebook Comments Box