साउदी, पाकिस्तान र टर्कीबीच ऐतिहासिक रक्षा सम्झौता

काठमाडौँ, २३ साउन – मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच साउदी अरेबिया, पाकिस्तान र टर्कीले ऐतिहासिक संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार भएको ‘मक्का संयुक्त रक्षा सम्झौता’ले तीन देशबीच सामूहिक सुरक्षा र प्रतिरक्षा सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि हुने आक्रमणलाई सबैमाथि भएको आक्रमणका रूपमा लिइनेछ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले यसले तीन देशको सामूहिक प्रतिरोध क्षमता बलियो बनाउने जनाएको छ ।

सम्झौता हुनुअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ सेना प्रमुख असिम मुनिरसहित साउदी अरेबिया पुगेका थिए । त्यसको भोलिपल्ट टर्कीका राष्ट्रपति रेजेप तयिप एर्दोआन पनि साउदी पुगे र युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गुरेका थिए । मध्यपूर्वमा इरान र इजरायलबीच बढ्दो तनाव तथा क्षेत्रीय द्वन्द्वका कारण साउदी अरेबियामाथि सुरक्षा चुनौती बढिरहेका बेला तीन देशबीच नयाँ रक्षा सहकार्य भएको हो ।

विश्लेषकहरूले यो सम्झौताले मध्यपूर्वको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने बताएका छन् । विशेषगरी क्षेत्रीय सुरक्षाका लागि इजरायल र इरानलाई प्रमुख चुनौतीका रूपमा हेरिँदै आएको छ । यद्यपि, सम्झौतामा कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण हुँदा अन्य दुई देशले कस्तो सैन्य प्रतिक्रिया जनाउनेछन् भन्ने विषय भने अझै स्पष्ट छैन ।

यसैबीच, इजिप्ट, कतार, सिरिया र संयुक्त अरब इमिरेट्सलाई समेत भविष्यमा गठबन्धनमा सहभागी गराउने सम्भावनाबारे चर्चा भए पनि ती देशका फरक राजनीतिक तथा रणनीतिक स्वार्थका कारण तत्कालै विस्तार हुने अवस्था स्पष्ट नरहेको विश्लेषण गरिएको छ ।

Facebook Comments Box