कालीगण्डकीको कटानले मालढुङ्गा पुल जोखिममा, सतर्कता अपनाउन आग्रह
बागलुङ, २३ साउन – कालीगण्डकी नदीको कटानका कारण पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल जोखिममा परेको छ। कालीगण्डकी नदीमा पानीको सतह बढेपछि पुलको पर्वततर्फ पिल्लर छेउका पर्खाल नदीले कटान गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। नदी उर्लिएर आएपछि पुलको तल्लो भागमा समेत क्षति पुगेको छ।
हाल पुलबाट यातायात सञ्चालनमा रहे पनि जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। पुलबाट दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु आवतजावत गर्ने गरेका छन्। नदीको जलस्तर बढेसँगै मालढुङ्गा आसपासका बस्तीसमेत जोखिममा परेकाले स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। मालढुङ्गा पुल हुँदै बागलुङसँगै गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लामा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

