करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, पहिलो उपहार घोषणा आज

काठमाडौँ, २२ साउन – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उपहार छनोट प्रणालीको नमुना प्रस्तुत गर्दै कार्यक्रमबारे जानकारी गराएको हो।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार पहिलो उपहार कार्यक्रम आज घोषणा गरिनेछ। साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने तथा नगदमा खरिद गरी प्यान वा भ्याट बिल विभागको वेबसाइटमा प्रविष्ट गर्ने उपभोक्तामध्ये हरेक दिनका आधारमा १५ जनालाई करकट्टीपछि एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यसै अवधिमा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर नगद उपहार पनि प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ। विभागका अनुसार बैंक वा डिजिटल वालेटको क्युआरमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर विभागको वेबसाइटमा विवरण प्रविष्ट गरेपछि मात्र उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

Facebook Comments Box