झापामा सार्वजनिक सुनुवाइ : जनगुनासो समाधानमा प्रशासनको प्रतिबद्धता

भद्रपुर, ३१ असार – झापा जिल्ला प्रशासन कार्यालयले आज सदरमुकाम चन्द्रगढीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले उठाएका विभिन्न समस्या र गुनासो समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा प्रमुख सरकारी कार्यालयका प्रमुखहरूले सेवा प्रवाहमा सुधार ल्याउने तथा जनगुनासो यथासक्य छिटो सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे। स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीहरूले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहमा देखिएका विविध समस्या उठाएका थिए।

सुनुवाइमा मुख्य रूपमा उठेका गुनासोमा लागुऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रण, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भएको ढिलाइ, मालपोत र नापी कार्यालयमा दलालहरूको हावी, कर्मचारीहरूको भ्रष्ट्र व्यवहार, गर्मी बढेपछि विद्युत् आपूर्तिमा देखिएको अवरोध, चन्द्रगढी बजारमा पार्किङ अव्यवस्था, तथा किसानले मल, बीउ र उत्पादनको उचित मूल्य नपाएको जस्ता मुद्दा थिए।

गुनासोका विषयमा सम्बन्धित निकायका प्रतिनिधिहरूले प्रत्यक्ष जवाफ दिँदै समस्या गम्भीर भएको स्वीकार गरे र सुधारको प्रतिबद्धता जनाए।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सघाउने उल्लेख गर्दै भने, “नागरिकका गुनासोका आधारमा समस्याको समाधान खोजिनेछ र सबै सरकारी निकायलाई उत्तरदायी बनाउने दिशामा प्रशासन प्रतिबद्ध छ।”

कार्यक्रममा नागरिक समाज, स्थानीय व्यापारी, पत्रकार, सेवाग्राही र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

Facebook Comments Box