कंगोमा इबोला महामारी तीव्र, मृतक संख्या १ हजार ३ सय नाघ्यो

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार तीन सय नौ नाघेको छ । पछिल्लो पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेपछि जनस्वास्थ्य विज्ञहरूले महामारी तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । सरकारी तथ्यांकअनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको संख्या दुई हजार नौ सय ७३ पुगेको छ, जुन अघिल्लो साताको तुलनामा २७ प्रतिशत बढी हो ।

अधिकारीहरूका अनुसार संक्रमण र मृत्यु दुवैको संख्या असाधारण रूपमा बढ्दै जाँदा यो प्रकोप कंगोमा हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला महामारीमध्ये एक बन्ने चिन्ता बढेको छ । महामारी ‘बुन्दिबुग्यो’ प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये सबैभन्दा दुर्लभ मानिन्छ । हालसम्म यसका लागि स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनसँग आबद्ध जनस्वास्थ्य विज्ञ अब्दुलसलामी नासिदीले प्रमाणित खोपको अभावका कारण भाइरस डढेलोझैँ फैलिरहेको बताउनुभएको छ । उहाँका अनुसार सीमित स्वास्थ्य स्रोतसाधन र द्वन्द्व प्रभावित क्षेत्रमा महामारी फैलिएकाले नियन्त्रण प्रयास थप चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन ग्रुपले बुन्दिबुग्यो प्रजातिविरुद्ध विकास गरिएको परीक्षणमूलक खोपको पहिलो मात्रा एक स्वयंसेवकलाई दिइएको जनाएको छ । वैज्ञानिकहरूले यस परीक्षणबाट भविष्यमा प्रभावकारी खोप विकास हुने अपेक्षा गरेका छन् ।

Facebook Comments Box