राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौँ, १८ साउन – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच, आज चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा लेखा समितिको बैठक तय गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ। यस्तै, अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथिको दफावार छलफललाई निरन्तरता दिनेछ भने लेखा समितिले प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

