चार महिनामा विपद्का ३,९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ, १५ साउन – गत वैशाख १ देखि साउन १४ गतेसम्म देशभर तीन हजार ९५१ विपद्जन्य घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विभिन्न विपद्का घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना भएका छन् । त्यसपछि सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना अभिलेख भएका छन् ।

यस्तै, साउन १३ गते बिहान १० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार गरिएको छ । यस अवधिमा करिब ४१ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

२४ घण्टाको अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् । यसैगरी, साउन १३ गते बिहान ८:४५ बजेदेखि साउन १४ गते बिहान ८:४५ बजेसम्म देशभर रहेका ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको छ । सो अवधिमा सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा मापन गरिएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments Box