डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आजै संवादको तयारी

सुदूरपश्चिम, १० साउन – धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल पनि शनिबार नै धनगढी पुगिसक्नुभएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संवाद गर्नुभएको थियो। त्यसपछि वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सरकारी टोली धनगढी पठाइएको हो। धनगढी पुगेको टोलीले आजै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सत्याग्रहको सहमतिपूर्ण समाधान निकाल्ने प्रयास गरिरहेको जनाएको छ। यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई चिकित्सकको सल्लाहअनुसार शनिबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

Facebook Comments Box