एमाले–नेकपा सत्ता सहमतिपछि कर्णालीमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने।
काठमाडौँ, १० साउन – नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच केन्द्रमा भएको नयाँ सत्ता सहमतिसँगै कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेपछि यसअघि बनेको प्रदेशको राजनीतिक समीकरण परिवर्तन भएको हो।
यसअघि नेपाली कांग्रेसले असार ३१ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि असार ३२ गते कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेशसभा सभामुख नन्दा गुरुङले नयाँ सरकार गठनसम्बन्धी प्रक्रियाका लागि कर्णाली प्रदेशसभाको बैठक साउन १४ गते दिउँसो ३ बजे बस्ने जानकारी दिनुभएको छ।

