सर्लाहीमा डिभिजन प्रमुखसहित दुई जना घुससहित पक्राउ
जनकपुरधाम, ९ साउन – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका अनुसार सेवाग्राहीबाट लिएको सात लाख ५० हजार रुपैयाँसहित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीका लागि डिभिजन कार्यालय पुग्दा डिभिजन प्रमुखको निर्देशनमा मेकानिकल अधिकृतमार्फत घुस मागिएको थियो। सेवाग्राहीबाट लिइएको सात लाख ५० हजार रुपैयाँ सरकारी क्वाटरमा पुर्याइएलगत्तै अख्तियारको टोलीले छापा मारेको जनाएको छ।
अख्तियारले डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।

