सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको घटनाको घोर भर्त्सना गरिएको उल्लेख छ ।
रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने स्पष्ट गरेको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण राजनीतिक अभ्यासमाथि आघात पुग्ने पार्टीको धारणा छ ।
पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्नमाथि कानुनअनुसार कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । रास्वपाले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

