मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको छ। हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

Facebook Comments Box